२०८२ भदौ १८ बुधबार
Jhapa Today
Adv top

पर्यटन लोभ्याउँदै झापाका सामुदायिक वन, अग्रपंक्तिमा जामुनखाडी


बिर्तामोड, भदौ १८ । पछिल्लो समय झापाका सामुदायिक वन आन्तरिक पर्यटन आकर्षित गर्दै आयआर्जनको गतिलो भर भइरहेका छन् । पर्यापर्यटनको गतिविधि सञ्चालन गर्न वन समूहहरु सक्रिय छन् ।

झापाका २३ वटा सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् । पर्यटक आकर्षित गर्न उनीहरुले विभिन्न आकर्षणका काम गर्दै आएका छन् ।

झापामा पहिलोपल्ट कनकाईको जामुनखाडी सिमसार क्षेत्रले पर्यटन क्षेत्रको रुपमा काम सुरु गरेको हो । २०६६ माघ १६ गतेबाट जामुनखाडी पर्यटकीय गन्तव्यका रुपमा रहँदै आएको छ ।

जामुनखाडीमा हाल झापासहित छिमेकी जिल्ला मोरङ, सुनसरी, इलामबाट पनि घुम्न आउने गरेको समितिका सचिव दिपक ओलीले जानकारी दिए । केही वर्षयता भारतबाट पनि पर्यटक निरन्तर आइरहेको ओलीले बताए ।

वन पैदावारको संरक्षण, उत्पादन र बिक्री वितरण गर्ने परम्परागत क्रियाकलापबाट अघि बढेर सामुदायिक वनहरु पर्यापर्याटनको क्षेत्रमा अग्रसर भइरहेका हुन् । पर्यापर्यटनमा लागेका अधिकांश सामुदायिक वनले आफ्नो वन क्षेत्रमा रहेको प्राकृतिक सिमसार र पोखरीलाई पर्यटक आकर्षण गर्ने माध्यम बनाएको पाइएको छ ।

अधिकांश सामुदायिक वनले बनभोज, नौका बिहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेल, वन उद्यान र सेल्फी खिच्ने ठाउँको रुपमा आफ्नो क्षेत्रलाई पूर्वाधारसहित आकर्षक बनाएको ओलीले बताए ।

त्यस्तै, कनकाईको जामुनबारी सामुदायिक वनमा वन्यजन्तु उद्दार केन्द्र रहेको छ । सर्वसाधारण तथा डिभिजन वन कार्यालयले अन्यत्रबाट उद्दार गरेका जंगली पन्छी र जनावरहरु संरक्षणका लागि केन्द्रमा पठाउने गरिएको छ ।

हरियाली, शान्त ठाउँ र मनोरम पोखरी भएका कारण सामुदायिक वनभित्रका प्राकृतिक सिमसारहरु प्रदेशका उम्दा पर्यटकीय स्थलको रुपमा विकसित भइसकेका छन् ।

Adv footer