बिर्तामोड, भदौ २० । झापाको शिवसताक्षीमा नचिनेका तीनजना युवाले हतियार देखाएर लाखौँको लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना हिजो राति पौने ९ बजेको हो ।

लुटेराहरुले घाँटीमा लगाएको सुनको सिक्री अढाई तोला, औँलाको सुनको औँठी आधा तोला गरी जम्मा तीन तोला सुन र घरभित्र पर्समा राखिएको नगद १ लाखसहित सात लाख बराबरको धामाल लुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर-११ स्थित बच्चाबगर बस्ने ५३ वर्षीया कृष्णकुमारी राईको घरमा लुटेराले हतियार देखाएर लुटेका हुन् ।

मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिहरुको समूहले धारिलो हतियार खुकुरी र चक्कु देखाएर कृष्णकुमारीको धनमाल लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराहरुको खोजतलास भइरहेको छ । कृष्णकुमारीबारे जानकारी भएकै व्यक्तिहरुले राति मौका छोपेर लुटेको प्रहरीले आशंका गरेको छ ।
