२०८२ भदौ २१ शनिबार
Jhapa Today
Adv top

मिस्टर कञ्चनजंघा राष्ट्रिय शरीरिक सुगठनको तयारी पूरा


बिर्तामोड, भदौ २१ । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ ।

प्रतियोगिताका संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता पहिलोपटक हुन लागेको हो ।

पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले बताए ।

बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि प्रदेशस्तरीय हुँदा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।

त्यस्तै, दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक दिपेन चौधरीले बताए ।

हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए ।

अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

यसैबीच, आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आयोजकले विजेताको ट्रफी सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष पराजुली, संयोजक दाहाल र चौधरी, सचिव सन्तोष उप्रेती, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सल्लाहकार टिकाराज ढकाल लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।

Adv footer