
बिर्तामोड, भदौ २१ । कोशी प्रदेशका एकजना मन्त्री चढेको गाडीले ललितपुरमा पैदलयात्री बालिकालाई ठक्कर दिएको छ । गाडीको ठक्करबाट बालिका घाइते भएकी छन् ।

आज बिहान सवा ७ बजेतिर ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

को. १ झ ६९९ नम्बरको सरकारी गाडीले बाटो काट्दै गरेकी ११ वर्षीया बालिका उषा सुनारलाई ठक्कर दिएको हो । एसपी जोशीका अनुसार उपचारका लागि बालिकालाई ग्वार्कोस्थित बिएन्डबी अस्पताल पठाइएको छ ।

बालिकाको अनुहारमा चोट लागेको छ । त्यस्तै, उनी बोल्न सक्ने अवस्थामा रहेको परिसरले जनाएको छ । मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयले गोदावरी जाने सडक अवरूद्ध गरेका छन् ।

स्थानीयहरूले मूल सडकमै गाडी तेस्र्याएर राखेका छन् । स्थानीयहरू सडकमै बेन्च राखेर बस्दा सवारी आवागमन बन्द भएको छ । गोदावरीमा शुक्रबारदेखि एमालेको विधान महाधिवेशन चलिरहेको छ ।

एमालेबाट कोशी प्रदेशसभा सदस्य रहेका मन्त्री मगर विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाने क्रममा उनी सवार गाडीले बालिकालाई ठक्कर दिएको हो । मन्त्री मगर दुर्घटना भएपछि बालिकाको अवस्था बुझ्न अस्पताल गएको बताइएको छ ।