
बिर्तामोड, भदौ २२ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका छन् ।

आज काठमाडौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारद्वारा उनलाई सम्मान गरिएको हो ।

सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको हो । त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह रहेका थिए ।सो कार्यक्रमको बिशेष अतिथि संघीय मामला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने रहेकी थिइन् । उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत मिश्र स्थानीय तहका बारेमा बिशेष अनुभवी तथा इमानदार कर्मचारीको रुपमा चिनिन्छन् ।

२०५९ सालदेखि सरकारी सेवामा प्रवेश गरी विभिन्न जिल्ला र क्षेत्रमा कार्य अनुभव बटुलेका मिश्रले जिल्ला प्रशासन कार्यालय झापा र कालिकोट, डोल्पा साथै भुटानिज शरणार्थी शिविरमा समेत सरकारी सेवा गरेर ख्याति कमाएका छन् । उनले जापान, कोरिया, श्रीलंका, चीन, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्ड, यूएई, भारतलगायतका देशको भ्रमण गरी अनुभव हासिल गरिसकेका छन् ।
