
बिर्तामोड, भदौ २३ । मोफसलको सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता ‘झापा गोल्डकप’ले सातौं संस्करणलाई निवर्तमान अध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पण गर्ने भएको छ ।

झापा गोल्डकपले सातौं संस्करणको नाम स्व. विनोद बस्नेत स्मृति झापा गोल्डकप रहने निर्णय गरेको हो । शनिबार बसेको बैठकले सर्वसम्मतरुपमा बस्नेतको स्मृतिमा गोल्डकप गर्ने निर्णय गरेको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

छैठौं संस्करण सम्पन्न गर्न स्व. बस्नेतले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनको स्मृतिमा सातौं संस्करण समर्पित गर्ने निर्णय भएको अध्यक्ष गिरीले जानकारी दिए ।

सातौं संस्करणका लागि अखिल नेपाल फुटवल संघ ९एन्फा०सँग समय तालिका माग गर्न पत्राचार गर्ने निर्णयसमेत गरेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले स्थानीय पालिकाहरुसंग समन्वय गर्न कार्यसमिति सदस्य बिशन लिम्बूलाई जिम्मेवारी दिएको छ । बैठकले कार्यसमिति सदस्य र सल्लाहकार सदस्य समेत मनोनयन गरेको छ ।

बैठकले कार्यसमिति सदस्यमा सात जनालाई मनोनयन गरेको छ । जसमा बिर्तामोडका यादव पोखरेल, पार्वता खरेल विमली, सन्तोष अग्रवाल, मदन खड्का र विपीन बस्नेत, धुलाबारीका धनराज थापा मगर र अर्जुनधाराका बीरबहादुर राई रहेका छन् । त्यस्तै, बैठकले ६२ सदस्यीय सल्लाहकार समिति मनोनयन गरेको छ ।