२०८२ भदौ २८ शनिबार
Jhapa Today
Adv top

जेन जी आन्दोलनमा ध्वंश पारिएका झापाका प्रहरी कार्यालय पुनर्स्थापना गरिँदै


बिर्तामोड, भदौ २८ । परिवर्तन र भ्रष्टचारविरुद्ध भनिएको जेनजी आन्दोलनका कारण ध्वंश पारिएका झापाका प्रहरी कार्यालय पुनर्स्थापना गरिँदैछ । झापाका ६९ वटा प्रहरी कार्यालय ध्वंश भएका थिए ।

झापाका विस्थापित प्रहरी कार्यालयमध्ये हिजो एकै दिन ९ वटा पुनस्र्थापित भएका छन् । इलाका प्रहरी कार्यालय केचना, कुमरखोद, राजगढ, घैलाडुब्बा, शनिश्चरे, गौरादह, प्रहरी चौकी महेशपुर, कोरोबारी र चारआली पुनर्स्थापना भएका हुन् ।

अन्य प्रहरी कार्यालयहरु पनि पुनस्र्थापित हुँदैछन् । अन्य प्रहरी कार्यालयहरुलाई पनि पुनस्र्थापना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्काल पुनस्र्थापना गर्न नसकिने प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरीहरुलाई छेउको प्रहरी कार्यालयमा राखेर जिम्मेवारीमा खटाइने जनाइएको छ ।

यसैबीच, भदौ २३ र २४ गते गरिएको आन्दोलनमा प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि अधिकांश प्रहरी कार्यालय कामै नलाग्ने भएका छन् । आगजनीबाट सबै कागजात र अन्य प्रमाणहरु नष्ट भएका छन् ।

झापामा रहेका ७३ वटा प्रहरी कार्यालयमध्ये ६९ वटा युनिटमा पूर्ण क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलाबारी र गौरीगञ्जमा भने आगजनी गरिएको छैन ।

इलाका, चौकी र अन्य युनिटबाट विस्थापित बनेका प्रहरीहरु जिल्ला प्रहरी कार्यालय झापामा रहेका छन् । कार्यालय भवन र निवास आगजनीले नष्ट भएकाले उनीहरु फर्किन समय लाग्ने भएको छ ।

Adv footer