
बिर्तामोड, भदौ ३० । झापाबाट थप दुईजना कैदी पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् ।

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दिनेश सोरेनलाई आज दिउँसो कनकाई-६ मा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

कर्तव्य ज्यान मुद्दामा झापा गाउँपालिका निवासी सोरेन कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले आठ वर्ष कैद भुक्तान गरिसकेका छन् ।

त्यस्तै, नेपालको कारागारबाट भागेर भारत पुगेका एक भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय केचनामा बुझाइएको छ ।

हिजो बिहान ६ बजे भारत किसनगञ्जको सुखानीमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत सीतामडी हाजिपुर घर बताउने अन्दाजी २३ वर्षीय नवलकिशोर नाम बताउने व्यक्तिलाई नेपालको कारागारबाट भागेको हुनसक्ने शंका लागेर भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो ।
