२०८२ भदौ ३० सोमबार
Jhapa Today
Adv top

झापाका १२ पालिका जलेर खरानी


बिर्तामोड, भदौ ३० । जेनजी समूहको आगजनी र तोडफोडका कारण झापाका १२ वटा पालिका पूर्णरुपमा जलेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए ।

आगजनीले क्षति पुगेका स्थानीय तह र वडा कार्यालयहरू सहज रुपमा पुनः सञ्चालनमा ल्याउनेबारे जिल्लाका पालिका (प्रमुख तथा उपप्रमुख), (अध्यक्ष तथा उपाध्यक्ष) हरुले एउटा साझा धारणा सार्वजनिक गरेका छन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले साझा धारणा सार्वजनिक गर्दै भदौ २४ गतेका दिन देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा युवा विद्यार्थी र राष्ट्रसेवक प्रहरी कर्मचारीको ज्यान गएको थियो ।

त्यस्तै, घुसपैठ भएर गोली चलेको घटनाको सिसिटिभी क्यामेराको फुटेज सार्वजनिक गरी निष्पक्ष छानबिनका लागि छानबिन आयोग गठन गर्न माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, तोडफोड र आगजनी भएका पालिकाहरूमा ५ दिनभित्र प्रहरी मुचुल्का तयार गर्ने, शान्ति सुरक्षा सुनिश्चित गर्दै सेवा पुनः सञ्चालन गर्ने, मुचुल्का तयार भएपछि पालिका सञ्चालन गर्ने, सार्वजनिक, निजी र संस्थागत विद्यालयहरू सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

त्यस्तै, आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको (फोटो र भिडियो) प्रहरी, प्रशासनलाई उपलब्ध गराउने तथा लुटपाट, आगजनी र तोडफोड गर्न भड्काउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही दायरमा ल्याउन माग गर्ने निर्णय भएको जनाइएको छ ।

यसैबीच, साझा धारणा सार्वजनिकपछि कतिपय पालिकाहरूले आज आआफ्नो पालिकामा बैठक बसी विभिन्न निर्णय गर्दै कामकाज अघि बढाइसकेका छन् ।

जिल्लाका १५ पालिकामध्ये आगजनी हुनबाट हल्दिबारी गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका मात्रै जोगिएको छ । अरू सबै पालिका कामै नलाग्ने गरी जलेर खरानी बनेका छन् ।

Adv footer