
बिर्तामोड, असोज १ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ । युएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो ।
नेपालमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठुलो संख्यामा कैदी भागेपछि युएईले कामदार एवम भिजिट भिसा बन्द गरेको जनाइएको छ । पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा युएई आउने गरेका छन् ।
दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन् । एक स्थानीय सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेस भएका भिसा अस्वीकार भएको जनाएका छन् ।
त्यस्तै, एक वेयर हाउस कम्पनीका पिआरओले २५ जना नेपाली श्रमिकका लागि आवेदन दर्ता गरिए पनि सबै भिसा अस्वीकृत भएको बताएका छन् । त्यस्तै, एक क्लिनिङ कम्पनीले पनि १२ कामदारको भिसा अस्वीकार भएको जनाएको छ । युएईको इमिग्रेसनबाट बाहिरी देश (नेपाल) बाट हालिने नयाँ भिसा रोकिएका छन् ।
इ–७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने
इ–७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै इ–७ भिसामा कोरिया जाने बाटो बन्द भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ । हाल रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन् ।




