२०८२ असोज २ बिहीबार
Jhapa Today
Adv top

नेपाल आउँदै गरेकी इन्डोनेसियाली महिला सीमावर्ती भारतमा पक्राउ


बिर्तामोड, असोज २ । नेपाल आउँदै गरेकी एकजना इन्डोनेसियाली महिला सीमावर्ती भारतमा पक्राउ परेकी छन् । नेपाल प्रवेश गर्न खोजेकी संदिग्ध इन्डोनेसियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ एसएसबी पक्राउ गरेको हो ।

एसएसबीको ४१ औँ बाहिनीको सी कम्पनी पानीट्यांकीका जवानले उनलाई पक्राउ गरेका हुन् । पक्राउ पर्ने महिलाको नाम काडेक सिसियानी हो । उनी इन्डोनेसिया निवासी हुन् । भारतीय आधार कार्डमा उनको नाम निन्योमन मुरनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्राप्त जानकारीअनुसार एसएसबीले उनलाई भारतीय सीमामा सीमास्तम्भ संख्या ९० को नजिक पुरानो पुलमा रोकेको थियो ।
सोधपुछ गर्ने क्रममा ती महिलाले आफूलाई भारतीय नागरिक निन्योमन मुरनी बताएकी थिइन् । पछि थप जाँच गर्दा उनको साथमा विभिन्न नक्कली कागजातहरू फेला परेको छ । जसमा इन्डोनेसियाली पहिचान पत्र पनि समावेश थियो ।

संदिग्ध महिलाले आफू भारतीय नागरिक नभएर मुम्बईमा एक स्थानीय एजेन्टमार्फत ठगी गरेर भारतीय आधार कार्ड र प्यान कार्ड प्राप्त गरेको स्वीकार गरेकी छन् ।

उनले नक्कली कागजात प्रयोग गरेर इन्डोनेसियाबाट टर्की, नेपाल र भारत यात्रा गर्ने गरेको बताएकी छन् । एसएसबीले कानुनी प्रक्रिया पूरा गरी ती महिलालाई खोरीबारी थानामा बुझाएको छ । आज ती महिलालाई सिलिगुडी अदालतमा पेस गरिने भारतीय प्रहरीले जनाएको छ ।

Adv footer