
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले गरामनी क्याम्पसको क्षतिग्रस्त भवन निर्माणका लागि अग्रसरता लिएका छन् ।
जेनजी आन्दोलनका क्रममा गरामनी क्याम्पस आगजनीबाट भवन क्षतिग्रस्त भएको छ । धेरै सामग्रीहरू जलाएर नष्ट गरिएका छन् ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आफूहरूले अग्रसरता लिने निर्णय गरेको आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक निर्देशक सञ्जोग खरेलले आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
उनले आन्दोलनको क्रममा यसरी शैक्षिक संस्थाहरूमाथि आक्रमण र आगजनी हुनु दुःखद भएको बताउँदै पुरानै वातावरणमा विद्यार्थीहरुलाई सहज तवरले पढ्नका लागि आफूहरुले सहयोग गर्ने घोषणा गरेको खरेलले बताए ।
क्याम्पसको पठनपाठनलाई पुरानै अवस्थामा फर्काउने गरी यी दुई निजी शैक्षिक संस्थाले अग्रसरता लिएपछि त्यसमा अरु संस्थाहरू पनि जोडिन थालेका छन् ।
लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले यो अभियानमा अरु निजी शैक्षिक संस्था जोडिने क्रम सुरु भएको बताए । उत्तरदायित्वअन्तर्गत आफूहरूले यो अभियान सञ्चालन गर्न लागेको पौडेलको भनाइ छ ।
यस अभियानमा बिर्तामोडका न्युटन्स एजुकेसन फाउन्डेसन, गोमेन्द्र विर्ता मोडल स्कुल र निदि मावि पनि जोडिएको खरेलले जानकारी दिए ।





