
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोडमा रहेको पाथिभरा च्याउ तथा बीऊ उद्योगले टिस्युकल्चर प्रविधिबाट च्याउको बीऊ उत्पादन सुरु गरेको छ । यो प्रविधि कोशी प्रदेशमै पहिलो हो । बिर्तामोड–३ मा रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीऊ उत्पादन थालेपछि च्याउको बीऊमा विदेशी निर्भरता पनि घटेको छ ।

उद्योगबाट वार्षिक ४५ हजार केजी च्याउको बीऊ उत्पादन गर्दै आएको र यसबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको खत्रीले जानकारी दिए । उद्योगमा सातजनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन् ।

जसमध्ये आफूसहित तीनजना कामदार आफ्नै घरका सदस्य रहेको उनले बताए । उद्योगबाट घर बाहिरका चारजना कामदारले पूर्णकालीन रोजगारी पाएका छन् ।

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न उनले आधुनिक प्रयोगशाला स्थापना गरेका छन् । उनले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट च्याउको बीऊ उमारिन्छ ।

भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चर प्रविधि बारे तालिम प्राप्त गरेपछि आफैले कोशी प्रदेशमा पहिलोपल्ट च्याउको बीऊ उत्पादन गरेका हुन् । उद्योगले च्याउ खेती गरिरहेका र नयाँ व्यवसाय सुरु गर्न चाहनेहरुलाई प्राविधिक परामर्श र कच्चा पदार्थ समेत उपलब्ध गराउँदै आएको छ । उद्योगबाट उत्पादित बीऊले माग धान्न नसकिरहेको उनले बताए ।

झापामा खत्रीले टिस्युकल्चर प्रविधि भित्र्याएपछि हाल जिल्लाभर उनको जस्तै च्याउको बीऊ उत्पादन गर्ने १३ वटा उद्योग स्थापना भइसकेका छन् । पाथिभराद्वारा उत्पादित च्याउको बीऊ झापासहित इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म बिक्री हुने गरेको छ ।
