
बिर्तामोड, असोज ५ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणमा सहयोग रकम जुट्न थालेको छ । विभिन्न संघसंस्था र व्यक्तिले रकम हस्तान्तरण गरेका छन् ।




भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको हो ।




स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । प्रहरी नहुँदा आपराधिक गतिविधि बढ्न थालेपछि स्थानीयको पहलमा पुनर्निर्माणसँगै प्रहरी पुनस्र्थापनाको कार्य शनिबारबाट सुरु गरिएको हो ।




पुनर्निर्माणका निमित्त एकका लागि एक अभियानले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । संयोजक महेन्द्रकुमार गिरीले सामाजिक सञ्जालमा लेख्दै पुनर्निर्माणका निमित्त १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।




यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । अलस्का अटोमोबाइल्स प्रालिका सञ्चालक शिवाकोटीले सो रकम आज सहयोग गरेका हुन् ।




त्यस्तै, सहयोग रकम घोषणा गर्नका निमित्त बिर्तामोड उद्योग वाणिज्य संघले आज बैठक आह्वान गरेको छ । पुनर्निर्माणका लागि कति रकम सहयोग गर्ने भन्ने बैठकले निर्णय गर्ने संघका अध्यक्ष राजु न्यौपानेले बताए ।




पुनर्निर्माणकै निमित्त सहयोग गर्न वैदेशिक रोजगार व्यवसायी संघ झापा सकारात्मक देखिएको छ । संघले सदस्यहरूबाट रकमसमेत सङ्कलन सुरु गरिसकेको अध्यक्ष धनबहादुर सुब्बाले बताए ।