
बिर्तामोड, असोज ६ । औषधिजन्य लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका बिर्तामोडका भानुभक्त खरेललाई जेल चलान गरिएको छ । उनी पुर्पक्षका लागि थुनामा गएका हुन् ।




झापा जिल्ला अदालतले बिर्तामोड-५ का ५० वर्षीय खरेललाई हिजो पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनका सहयोगी अर्जुनधारा–६ दासपुलका २५ वर्षीय विनोद घिमिरे भने २ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।




औषधि व्यवसायी खरेललाई बिर्तामोड बसपार्क आसपारमा भदौ २८ गते स्थानीयबासीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापासमक्ष बुझाएका थिए । उनीमाथि म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।




बिर्तामोड प्रहरीले साउन १ गते बिहान बिर्तामोड–५ मंगलदीप टोलमा रहेको खरेलले सञ्चालन गरेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो । त्यसयता खरेल फरार रहेका थिए ।




प्रहरीले खरेलको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल र ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० एम्पुल बरामद गरेको थियो ।




त्यस्तै, ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट र टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट बरामद गरिएको थियो ।




अर्जुनधारा–११ नारायणचोकको दंगाल मार्केटमा रहेको सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलकै स्वमित्वमा रहेको गोदामबाट औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।