२०८२ असोज १६ बिहीबार
Jhapa Today
Adv top

विदेशी शक्तिको डिजाइनमा प्रधानमन्त्री बन्नुपर्ने भएकाले अस्वीकार गरेँः दुर्गा प्रसाईं


बिर्तामोड, असोज १० । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँबाट झापा फर्किएलगत्तै बिर्तामोडमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रसाईंले प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका हुन् । “प्रधान सेनापतिले प्रधानमन्त्री खान अफर गर्नुभएको थियो,” प्रसाईंले भने, “तर मैले नखाने भनेर जवाफ दिएँ ।”

प्रसाईंका अनुसार विदेशी शक्तिको डिजाइनअनुसार प्रधानमन्त्री बन्नुपर्ने भएकाले आफूले अस्वीकार गरेको हुँ भन्ने स्पष्टीकरण दिएका छन् । भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनपछि हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । आन्दोलनकै क्रममा जनधनको ठुलो क्षति भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलभन्दा प्रधान सेनापति सिग्देल बढी सक्रिय देखिएको चर्चा त्यतिबेला थियो ।
यही क्रममा प्रसाईं नेतृत्वको टोली जंगी अड्डा पुगेको र त्यहाँ सेनापतिले प्रसाईंलाई जेनजी आन्दोलनको स्टेकहोल्डरको रुपमा सम्मान गरेको कुरा त्यतिबेलै मिडियामा आएको थियो ।

बिहीबार प्रसाईंलाई झापामा भव्य स्वागत गरिएको थियो । चन्द्रगढी विमानस्थलमा बाजागाजा र फूलमालासहित स्वागत गरिएकाले उनी दुई सेता कारको स्कर्टिङमा गरामनी हुँदै बिर्तामोड आएका थिए । मोटरसाइकल र कारको ताँतीसहित उनी बिएन्डसी अस्पताल पुगेर दुर्गा माताको प्रतीमामा ध्वजा पताका चढाएका थिए ।

पछिल्लो समय ओली नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै प्रसाईंले ओलीलाई “दुला पसेको मुसो” को संज्ञा समेत दिए । पाँच महिनाअघि ओली सरकारले आफूलाई हतकडी लगाएर थुनामा राखेको स्मरण गर्दै अहिले परिस्थिति उल्टिएको दाबी गरे ।

कार्यक्रममा प्रसाईंले झापालीले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै २० लाख रुपैयाँभन्दा मुनिका ऋण मिनाहा गर्ने वाचा दोहोर्याएका थिए ।

Adv footer