
बिर्तामोड, असोज १६ । झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकामा पुलबाट लडेर दुईजना युवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु अलगअलग स्थानबाट लडेका हुन् ।




प्रहरीका अनुसार हिजो बिहान ९ बजे झापा गाउँपालिका वडा नम्बर ५ शरणामतीस्थित बिरिङ पुलबाट अन्दाजी ३०–३५ वर्षका पुरुष कल्भर्ट माथिबाट लडेका हुन् । उनले मदिरा सेवान गरेको बताइएको छ ।




उनलाई तत्कालै उपचारका लागि बिर्तासिटी अस्पताल पठाएकोमा त्यहाँबाट थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर र त्यसपछि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।




त्यस्तै, हिजो साँझ ५ः३० बजे झापा गाउँपालिका वडा नम्बर ७ मदरगाछमा बन्दै गरेको माईखोला पुलमा काम गर्ने मिस्त्री घाइते भएका छन् । भारत बिहार लालगढ बस्ने ४० वर्षीय महमद समसिद पुलबाट लडेर घाइते भएका हुन् ।




उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । कम्मर लगायत शरीरको विभिन्न भागमा चोट लागेका घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



