
बिर्तामोड, असोज १६ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत झापाको बिर्तामोडथित बुट्टाबारीमा भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरबाट काँकरभिट्टा आउँदै गरेको बस पल्टिएको हो ।




जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । चौधरी बसको कन्डक्टर हुन् । एकजनाको पहिचान खुलेको छैन ।




आज बिहान ९ः३० बजे बिर्तामोड ६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस अनियन्त्रित भएर पल्टएको थियो ।




बस सडकबाट पाँच मिटर तल्तिर झरेको थियो । तीव्र गतिमा रहेको बस निर्माणाधीन सडकबाट तल झरेको हो । दुर्घटनामा १६ जना यात्रु घाइते भएको प्रहरीको भनाइ छ ।




घाइतेहरूलाई उद्दार गरी अस्पतालतर्फ पठाइसकिएको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले बताएका छन् । स्थानीयबासी तथा अन्य यात्रु र प्रहरीले घाइतेको उद्दार गरेका थिए ।



