
बिर्तामोड, असोज १९ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ठुलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ । आज झापा, इलाम, मोरङमा भारी वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको मीनकुमार अर्यालले बताए । उनका अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ ।
त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै-कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने उनले बताए ।
‘आजको हकमा इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा आइसोलेटेड रुपमा भारी वर्षाको सम्भावना देखिन्छ,’ अर्यालले भने, ‘तर त्यो पनि दिउँसोबाट मत्थर हुँदै जाने छ ।’
गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन भएको छ ।
यसैबीच, कनकाई नदीको जलसतह आज बिहानसम्म ५.१२ को लेभलमा थियो । ३.८ लाई सचेतना र ४.३ लाई खतरा मानिन्छ । २०७४ सालमा ५.४ पुगेको थियो । बिरिङ खोलाको जलसतह पनि खतराको लेभलमा पुगेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।
कनकाई नदीको जलसतह खतरा लेभलमा पुगेपछि गौरीगञ्ज र झापा गाउँपालिकाका जोखिमपूर्ण ठाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।




