२०८२ असोज २४ शुक्रबार
Jhapa Today
Adv top

इलामबाट बगेका थिए कनकाईमा शव भेटिएका तामाङ


बिर्तामोड, असोज २१ । झापाको कनकाईस्थित कोटिहोममा मृत अवस्थामा भेटिएका गजुरमान तामाङ इलामबाट बगेको पुष्टि भएको छ । इलाम नगरपालिका–१० गोदकका ५५ वर्षीय तामाङको शव दुई दिनअघि भेटिएको थियो ।

असोज १८ गते राति भएको भारी वर्षाका कारण माईखोलामा आएको बाढीले तामाङलाई आफ्नै घरबाट बगाएर बेपत्ता बनाएको इलाम प्रहरीले जनाएको छ । उनको शव असोज १९ गते भेटिएको हो ।

आफ्नै घरबाट खोलाले बगाएर बेपत्ता भएपछि प्रहरीले तामाङको खोजी सुरु गरेको थियो । कनकाई माईखोलाको बीच भागमा तामाङको शव भेटिएको थियो ।

भोलिपल्ट बिहान ११ः५० बजे कोटिहोमस्थित कनकाई माईखोलाको बीच भागको डिलमा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । झापामा तामाङको शव भेटिएको भोलिपल्ट हिजो मात्र पहिचान खुलेको हो ।

उनका छोरा दावा तामाङले पहिचान गरेका हुन् । मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । बाढी र पहिरोले इलाममा मात्र हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।

Adv footer