
बिर्तामोड, असोज २३ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा स्तरोन्नति तथा सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको हो ।




भद्रपुर-१० कलवलगुढी खेल मैदानमा पर्सि असोज २५ गतेदेखि सुरु भएर कात्तिक १ गते शनिबार फाइनल खेल हुने प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् । प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।




त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।




प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सेन्टरका सदस्य बिकी जैसवालले बताए । प्रतियोगिताको उद्घाटन खेलमा समूह क को एकता स्पोर्टिङ क्लब र सैनिक फुटबल क्लब आपसमा खेल्नेछन् । सोही दिन समूह ख को हिमाली युनाइटेड क्लबविरुद्ध धाइजन चारआली फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।



