२०८२ असोज २७ सोमबार
Jhapa Today
Adv top

भद्रपुरमा चार लाखको पटाका बरामद


भद्रपुर, असोज २६ । प्रहरीले झापाको भद्रपुर नाकाबाट पटाका बरामद गरेको छ । तिहार तथा छठ नजिकिएसँगै भद्रपुर नाकाबाट प्रतिबन्धित बारुदजन्य पटाका भित्रिन थालिसकेको हो ।

वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले विशेष सूचनाको आधारमा हिजो राति ८ बजे भद्रपुर–५ स्थित राईबस्ती (सीमा पिलर ९९) नजिकैबाट भित्र्याइएको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तस्कर समूहले भित्राएको चार बोरामध्ये दुई बोरा पटाका र दुई बोरा झिलिमिली बत्ती गरी अन्दाजी चार लाख मूल्य बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पटाका नष्ट गरिने र झिलिमिली बत्ती भन्सार बुझाइने जनाइएको छ । तस्कर समूहहरूले भद्रपुरको घोडामारा, दोभान, देबीबस्ती, चाचा बगान, डाँगीबारी, मेचीपारिको झोलुङ्गे पुल आसपास, हिमाली, धिमलधुरा, किचकबध, बैसाबाडी लगायतका क्षेत्रबाट पटाका लगायतका सरसामानहरू भन्सार छलेर भित्राइरहेका छन् ।

जेनजी आन्दोलन पश्चात सीमाका सुरक्षा निकायले तस्करी नियन्त्रणमा खासै चासो नदेखाउँदा पछिल्लो समयमा तस्करी मौलाउँदै गएको हो । सुरक्षा अवस्था कमजोर ठानेर तस्करी भइरहेको बताइन्छ ।

अन्य सरसामान भित्र्याउनु भन्दा १०० प्रतिशत कमिसन पाउने भन्दै तस्करहरूले अहिले धमाधम सीमा नाकाबाट पटाका भित्राइरहेको पाइएको छ । झापाका अन्य नाकाबाट पनि पटाका नेपाल आइरहेको छ ।

Adv footer