
बिर्तामोड, असोज २७ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत समूह क तर्फ सैनिक युथ क्लब बिर्तामोेड शीर्ष स्थानमा चढेको छ ।




आज भएको आफ्नो दोस्रो खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै सैनिक समूहको शीर्ष स्थानमा उक्लिएको हो । सैनिकले २-० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा जित भने सैनिकले निकालेको हो ।




खेलको ३९ औँ र ४९ औँ मिनेटमा सैनिकका कप्तान सेरोन गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । निर्धारित ५० मिनेटको खेलमा काँकरभिट्टाले पनि अवसरहरु सिर्जना गरेको थियो । तर, गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।




सैनिकले यसअघि बिर्तामोडको एकता स्पोर्टिङ क्लबसँग बराबर खेलेको थियो भने काँकरभिट्टाले भद्रपुर ब्लेजर्सलाई हराएको थियो । सैनिकको दुई खेलमा ४ अंक पुगेको छ भने त्यत्ति नै खेलमा काँकरभिट्टासँग ३ अंक छ ।




खेलको प्लेयर अफ द म्याच सैनिकका दुई गोलकर्ता सेरोन गुरुङ भए भए । उनलाई स्वस्तिक ट्राभल्सका सञ्चालक बिक्की जैसवाल र अभिभावक नन्दकुमार धिमालले नगद ५०० र ट्रफी प्रदान गरे ।




भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।