
बिर्तामोड, असोज २७ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘क’ तर्फ एकता स्पोर्टिङ क्लब बिर्तामोेड शीर्ष स्थानमा चढेको छ ।




प्रतियोगितामा एकताका मिसान्त चौधरीको पहिलो ह्याट्रिक मद्दतमा उसले भद्रपुर ब्लेजर्सलाई निक्कै दबाबमा राखेको थियो । आज भएको आफ्नो दोस्रो खेलमा हराउँदै एकता समूहको शीर्ष स्थानमा उक्लिएको हो ।




एकताले ३–० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो । खेलको सातौँ, २९ औँ र ३८ औँ मिनेटमा एकताका चौधरीले गोल गरेका थिए । एकताको खेल तलामेल मिलेको थियो भने भद्रपुर अलमलमा परेको थियो ।




एकताले यसअघि बिर्तामोडको सैनिकसँग बराबर खेलेको थियो भने भद्रपुर ब्लेजर्सको यो लागातर दोस्रो हार हो । एकताको दुई खेलमा ४ अंक पुगेको छ भने त्यत्ति नै खेलमा भद्रपुर ब्लेजर्स अंकविहीन छ ।




खेलको प्लेयर अफ द म्याच प्रतियोगिताका पहिलो ह्याट्रिककर्ता चौधरी भए । उनलाई स्वस्तिक ट्राभल्सका सञ्चालक बिक्की जैसवाल र झापा टुडेका सम्पादक तथा झापाका खेलकुद पत्रकार हिमाल खरेलले नगद ५०० र ट्रफी प्रदान गरे ।




भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।





त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।