२०८२ असोज २९ बुधबार
Jhapa Today
Adv top

बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ


बिर्तामोड, असोज २९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकको बोतल र जारमा बिक्री वितरण भइरहेका साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।

विभागले मंगलबार जारी गरेको सूचनाअनुसार अबदेखि काठमाडौँ उपत्यकाभित्र १ लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँभन्दा बढीमा बिक्री गर्न पाइने छैन । त्यस्तै, २० लिटरको जारको पानी काठमाडौँ उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ ।

यसअघि व्यापारीहरूले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । उपभोक्ताको हित संरक्षणका लागि मूल्य सीमा तोकिएको विभागले जनाएको छ ।

साथै, तोकिएको भन्दा बढी मूल्य लिएको पाइएमा उपभोक्ताले विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ । विभागले मूल्य अनुगमनलाई कडाइका साथ अघि बढाउने तयारी समेत गरेको छ ।

विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचनामार्फत जनाएको छ ।

विभागले पानी विक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

Adv footer