२०८२ असोज ३० बिहीबार
Jhapa Today
Adv top

भद्रपुर हुँदै नेपाल भित्र्याउन लागिएको एक केजी ब्राउन सुगरसहित दुई भारतीय पक्राउ


बिर्तामोड, असोज ३० । नेपाल भित्र्याउन तयारी अवस्था रहेको ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित दुईजना व्यापारीलाई सीमावर्ती गलगलियाबाट पक्राउ गरिएको छ । भद्रपुर नाका हुँदै झापा भित्र्याउन लागिएको ब्राउन सुगर गलगलियामै बरामद भएको हो ।

भारतीय प्रहरीले एक केजी १९२ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गलगलिया थाना लकडी डिपो गाउँ बस्ने १९ वर्षीय मोहम्मद सौरभ र सोही ठाउँका ५० वर्षीय मोहम्मद मुस्ताक रहेका छन् ।

उनीहरु दुवैजना सीमावर्ती क्षेत्र लगलियामा बसेर झापा हुँदै नेपालमा लागुऔषको कारोबारमा संलग्न हुँदै आएको प्रहरीले बताएको छ । उनीहरुले ठुलो गिरोह नै सञ्चालन गरेर ब्राउन सुगरको तस्करी गर्दै आएका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक केजी १९२ ग्राम ब्राउन सुगर, नेपाली मुद्रा ४ लाख ५१ हजार १७५, भारतीय मुद्रा ८३ हजार १९९, विभिन्न ब्रान्डका स्मार्टफोन ७ थान, किप्याड फोन २ थान, चाँदीका सिक्का दुईवटा, डिजिटल तराजु २ थान र नाइट्राजेपाम ट्याब्लेट १६८ थान बरामद गरेको छ ।

४१ औँ बटालियन एसएसबी भातगाउँ र गलगलिया प्रहरीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीले लागुऔषध कारोबारीविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।

Adv footer