
बिर्तामोड, असोज ३० । बिर्तामोडको एकता स्पोर्टिङ क्लब झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।




आज भएको पहिलो सेमिफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई हराउँदै एकता उपाधिनजिक पुगेको हो । एकताले कम्तिमा १५ हजार रुपैयाँ पक्का गरेको छ ।




खेलमा धाइजन चारआलीले सुरुवाती अग्रता लिए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको थियो । एकताले २–१ गोल अन्तरले धाइजन चारआलीलाई पराजित गरेको हो ।




खेलको १७ औँ मिनेटमा धाइजन चारआलीका साहिल मेचेले गोल गरेका थिए । तर, एकताका लागि खेलको ३८ औँ मिनेटमा ओमकार राजवंशी र ४७ औँ मिनेटमा सागर राजवंशीले गोल गर्दै जित निश्चित बनाएका थिए ।




खेलको प्लेयर अफ द म्याच धाइजन चारआलीका दिवस उराउ भए । उनलाई भद्रपुरका निर्वतमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ र आयोजक अध्यक्ष मित्र बस्नेतले नगद ५०० र ट्रफी प्रदान गरे ।




भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।