
बिर्तामोड, असोज ३१ । सरकारले झापाको हुलाकी राजमार्गमा रहेको कनकाई नदीको पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।




ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठुलो झापाको कनकाई पुलको हो । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको हो ।




पक्की पुल डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७÷६८ मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ ।




झापाको बाढी र डुबान प्रभावित क्षेत्र अवलोकन गर्न असोज २६ गते झापा आएका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अलपत्र कनकाई पुल पुगेर ठेक्का तोडेर भए पनि निर्माण कार्य अघि बढाउने बताएका थिए ।




यसैबीच, सरकारले सडक र पुल निर्माणसँग सम्बन्धित १७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।




सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।




सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेक्का तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका छन् ।