२०८२ कार्तिक १ शुक्रबार
Jhapa Today
Adv top

विराट अर्जुन सहकारीको साधारणसभा सम्पन्न


बिर्तामोड, असोज ३१ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संस्थाकी उपाध्यक्ष देवी निरौला बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेश प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष खरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार ५ सय ५९ जना, शेयर पँुजी ९४ लाख ६६ हजार २००, निक्षेप २ करोड ५४ लाख ६६ हजार ४७२ रूपैयाँ १४ पैसा, कर्जा लगानी २ करोड ७१ लाख ७४ हजार ६१६ रूपैयाँ, कारोबार ३ करोड ८९ लाख ६० हजार ९४७ रूपैयाँ २६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक माणिकलाल राजवंशीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कर्जा उपसमितिका संयोजक दिपेश प्रसाईंले कर्जा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव लक्ष्मीप्रसाद खरेलले शेयर सदस्यहरूमा अनुरोधसहित धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, प्रथम आइटी सिस्टमका प्रबन्ध निर्देशक भूपेन्द्र मैनालीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरूलाई मायाको चिनोको रूपमा पुस्तक प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मीप्रसाद खरेलले गरेका थिए ।

Adv footer