
भद्रपुर, कात्तिक १ । झापा बिर्तामोडको सैनिक युथ क्लबले भद्रपुरको कलवलगुढीमा भएको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।




आज भएको फाइनल खेलमा छिमेकी टिम एकता स्पोर्टिङ क्लबलाई सडनडेथमा हराउँदै सैनिकले उपाधि रक्षा गरेको हो । उपाधिसँगै सैनिकले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेतामा सीमित एकताले नगद १५ हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।




सैनिकले एकतालाई सडनडेथमा ५–४ गोल अन्तरले हरायो । फाइनलमा सैनिकका गोलकिपर नविन खवास नायक बने । उनले दुईवटा गोल रोके ।




यसअघि निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएको थियो । टाइब्रेकरबाट निर्णय ननिस्किएपछि खेल सडनडेथमा धकेलिएको थियो ।




फाइनल खेलको प्लेयर अफ द म्याच सैनिकका निरभ श्रेष्ठ भए । उनले नगद ५०० र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर सैनिकका नविन खवास भए ।




उत्कृष्ट डिफेन्डर एकताका साहिल भट्टराई, उत्कृष्ट मिडफिल्डर एकताका आदित्य खनाल, उत्कृष्ट फरवार्ड सैनिकका सेरन गुरुङ, सर्वाधिक गोलकर्ता एकताका सागर राजवंशी, उत्कृष्ट प्रशिक्षक सैनिकका सन्दीप गुरुङ भए । उनीहरुले नगद दुई हजार र ट्रफी पाए ।




प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता सैनिकका मध्यपंक्तिका खेलाडी पास्कल पौडेल भए । उनले नगद तीन हजार ५०० रुपैयाँ र ट्रफी पाए । उदयीमान खेलाडी आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरका आसुतोष थापा भए । उनल नगद दुई हजार ५०० र ट्रफी पाए ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा भएको प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, पूर्वराष्ट्रिय खेलाडी हरि खड्का, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक प्रवेश कटुवाल, आयोजक अध्यक्ष मित्र बस्नेत, सदस्य बिकी जैसवाल लगायतले पुरस्कार वितरण गरे ।