बिर्तामोड, कात्तिक ४ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक महिनाअघि दुर्घटनामा घाइते भएका थिए ।




बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गराएर तीन दिनअघि घर लगिएका साइकलयात्री झापा गाउँपालिका वडा नम्बर २ बस्ने ५० वर्षीय पिन्टु राजवंशीको आज बिहानको राति २ः१० बजे मृत्यु भएको हो ।




गत असोज ५ गते बिहान ८ः५० बजे बिर्तामोड वडा नम्बर २ भाटभटेनी सुपर मार्केटनजिकै पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अर्जुनधारा ५ बस्ने १७ वर्षीय अनुज राजवंशीले चलाएको प्रदेश १–०१–१७ प २५८ नम्बरको मोटरसाइकलले साइकलयात्री पिन्टु राजवंशीलाई ठक्कर दिएको थियो ।




उनको त्यहाँ २६ दिन लामो उपचार भएको थियो । राजवंशीको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




प्रहरीले मोटरसाइकल चालक अनुज राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेको छ । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका पिन्टुलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो ।



