२०८२ कात्तिक ५ बुधबार
Jhapa Today
Adv top

सुनमा १२ वर्षकै सबभन्दा ठुलो गिरावट


बिर्तामोड, कात्तिक ५ । सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठुलो गिरावट आएको छ । यो वर्षको रेकर्ड तोड्नेगरी मूल्यवृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो ।

सोमबार एक ट्रय औँस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो । मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ’द फाइनान्सियल टाइम्स’ ले लेखेको छ । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठुलो गिरावट हो ।

धेरै विश्लेषकले यसलाई ’ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेका छन् । एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैँ फुलेको थियो । मूल्यवृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत हुनसक्ने उनले बताएकी छन् ।

यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो । दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो । ’छ सातामै १,००० डलर वृद्धि हुनुले नै मूल्य कति माथि पुगेको थियो भन्ने देखाउँछ,’ उनले भनिन् ।

केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढेको थियो ।

विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्नु पनि मूल्य बढ्नुको एउटा मुख्य कारण हो ।
पछिल्ला महिना ठुला संस्थागत लगानीकर्ताहरूले पनि सुनमा लगानी बढाएका छन् । सेप्टेम्बरमा मात्र सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो ।

जापानदेखि अस्ट्रेलियासम्मका खुद्रा ग्राहक सुन किन्न झुम्मिएपछि केही सातायता सुनको मूल्य झन् उकालो लागेको थियो ।

तर, अहिले अमेरिका–चीनबीच व्यापार तनाव घटेको संकेत छ । अमेरिकी डलरमा पनि पुनरूत्थानको संकेत देखिँदैछ । यी सबैले मंगलबारको मूल्य घटाउन भूमिका खेलेको विश्लेषकहरूले बताएका छन् ।

Adv footer