
बिर्तामोड, कात्तिक ७ । झापाका प्रमुख बजार क्षेत्रमा नेपाली सेनाले प्रहरीको साथमा संयुक्त गस्ती गरिरहेको छ । गस्ती कात्तिक ३ गतेदेखि सुरु भएको जनाइएको छ ।

मुख्य चाडबाडपछि विभिन्न समूहले चर्को आन्दोलन गर्ने संकेत गरेपछि नेपाली सेनाले झापाका प्रमुख सहरमा गस्तीलाई निरन्तरता दिएको हो । दिन र र रातमा गस्ती निरन्तर छ ।

तिहार, छठ र त्यसपछिको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाले झापाका मुख्य बजारहरुमा संयुक्त गस्तीलाई तीव्रता दिएको हो । नेपाली सेनाको अरिदमन गण चारआलीले गस्ती गरिरहेको छ ।

झापा जिल्लाका मुख्य बजारहरु सदरमुकाम चन्द्रगढी, प्रमुख बजार बिर्तामोड, सीमावर्ती काँकरभिट्टा, दमक, गौरादहलगायतलाई केन्द्रित गरी गस्ती कारबाही सञ्चालन गरेको हो ।

गस्तीमा जनपद प्रहरी र सशस्त्र प्रहरी पनि सहभागी छन् । संयुक्त गस्ती कात्तिक १५ गतेसम्म सञ्चालन हुने अरिदमन गण चारआलीले जनाएको छ । जेनजी आन्दोलनपछि देशको अवस्था बिग्रिएको बताइएको छ ।








