बिर्तामोड, कात्तिक ७ । झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती महिलाको आज दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ः१५ बजे करेन्ट लाग्दा बिर्तामोड-१० फेसबुकचोककी ५५ वर्षीया तालामाई मर्डीको मृत्यु भएको हो ।

स्थानीय कुमार मगरको घरबाट आफ्नो घरमा बिजुली बाल्ने क्रममा बिग्रिएको तारमा मर्डीलाई करेन्ट लागेको थियो । बिग्रिएको तार हेर्दै जाने क्रममा उनलाई करेन्ट लागेको हो ।

खेतमा करेन्ट लागेर घोप्टो परेको अवस्थामा मर्डी मृत भेटिएकी थिइन् । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा प्रहरी खटिएको छ । शवको पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।








