२०८२ कात्तिक ८ शनिबार
Jhapa Today
Adv top

झापा महिला गोल्डकपको मुख्य प्रायोजकमा एलभिडी


बिर्तामोड, कात्तिक ८ । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ ।

अब ‘एलभिडी झापा महिला गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । एलभिडीले यसअघि झापामा भएको फुटबलमा पनि प्रायोजन गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सौरभ श्रेष्ठले झापा महिला गोल्डकपसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

नेपालमा १० वर्षदेखि सञ्चालनमा रहेको एलभिडीले महिला खेलाडीको प्रोत्साहनका लागि मुख्य प्रायोजकको भूमिकामा रहेको श्रेष्ठले बताए । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता भएकाले आवद्ध भएको उनको भनाइ छ ।

एलभिडीले पुरुषका लागि भित्री वस्त्रबाहेक सर्ट, पेन्ट, कोटलगायत विभिन्न कपडा उत्पादन र बिक्री गर्दै आएको छ । नेपालका सबै प्रमुख सहरमा एलभिडीका बिक्री केन्द्र रहेको श्रेष्ठले जानकारी दिए ।

यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ ।

त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।

गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए ।

नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । त्यस्तै, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।

Adv footer