२०८२ कात्तिक ९ आइतबार
Jhapa Today
Adv top

छठको दोस्रो दिन आज ‘खरना’


बिर्तामोड, कात्तिक ९ । छठपर्वको दोस्रो दिन व्रतालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।

व्रतालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रहिआएको छ । दिनभरिको निराहार उपवास गरेका व्रतालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन व्रतालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन/प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउसिनिएको अन्न) खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने व्रतालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् ।

त्यसैगरी, सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । व्रतालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खीरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन गरिन्छ ।

Adv footer