२०८२ कात्तिक ९ आइतबार
Jhapa Today
Adv top

युनिकम अध्यक्ष पौडेल युएनआइको सदस्यमा निर्वाचित


बिर्तामोड, कात्तिक ९ । झापा बिर्तामोडका गजेन्द्रबहादुर पौडेल मलेसियामा सम्पन्न युएनआइ ग्लोबल युनियन एसिया प्यासिफिकको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै युएनआइ ग्लोबल युनियन एसिया प्यासिफिकको सम्मेलनमा मेलिसिया गएका पौडेल दक्षिण एसियाका सदस्यका निर्वाचित भएका हुन् । उनी नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) का केन्द्रीय अध्यक्ष हुन् ।

पौडेल चार बर्से कार्यकालका लागि निर्वाचित भएका हुन् । नेपालमा व्यापार कर्मचारी र श्रमिकको अधिकार र संरक्षणमा पौडेलको भूमिका खेल्दै आएका छन् । उनको चयनले नेपालका श्रम–व्यवसाय क्षेत्र र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाएको छ ।

समितिको अध्यक्षमा अस्ट्रेलियाका जेरार्ड डायर निर्वाचित भए । समितिमा मध्यपूर्व एसियाबाट चारजना, दक्षिणपूर्वी एसियाबाट तीनजना, दक्षिण एसियाबाट दुईजना र ओसियानाबाट दुईजना निर्वाचित भएका छन् ।

सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरूले पौडेलको योगदान, अनुभव र श्रमिक अधिकारमा देखाएको प्रतिबद्धतालाई उच्च मूल्यांकन गर्दै उनलाई कार्यसमितिमा चयन गरेका हुन् ।

पौडेलले एसिया प्यासिफिक क्षेत्र श्रमिक अधिकार र सहकार्यका दृष्टिले सबल रहेको बताउँदै अझ प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा श्रमिक अधिकार, समान अवसर र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने उनको भनाइ छ ।

यसैबीच, सम्मेलनमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार (राजु) घिमिरे, बिर्तामोडका होटल व्यवसायी समिर बस्नेतलगायत नेपालको प्रतिनिधित्व गर्दै पर्यवेक्षकको रुपमा सहभागी भएका थिए ।

Adv footer