
बिर्तामोड, कात्तिक ९ । शनिबार मात्रै झापामा तीनजना किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् ।

शुक्रबार बिहान ६ बजे मेचीनगर-४ आमडाँगी पशुपति टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिँडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रहरी चौकी बाहुनडाँगीमा हुलियासहितको निवेदन दिएका छन् ।

त्यस्तै शुक्रवार दिउँसो १ बजे शिवसताक्षी-८ ढुङ्गेल चौक बस्ने कृष्णप्रसाद भण्डारीकी छोरी १६ वर्षीया दीक्षा भण्डारी घरमा कोही कसैलाई केही नभनी सम्पर्कविहीन भएकी थिइन् ।

छरछिमेक तथा आफन्तसमेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका बुवा कृष्णप्रसाद भण्डारीले हिजो इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहितको निवेदन दिएका थिए । उनी गए राति भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, हिजो दिउँसो ३ः३० बजे बुद्धशान्ति–३ बुधबारे बजार बस्ने शिवजी गुप्ताकी छोरी १३ वर्षीया सन्ध्या गुप्ता साथीको घर जान्छु भनी हिँडेकोमा सम्पर्कमा नआई बेपत्ता भएकी थिइन् । आफन्त तथा छरछिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको थियो ।

खोजतलास गर्ने क्रममा गए राति १०ः३० बजे मेचीनगर–६ मेचीडाँडा बस्ने २३ वर्षीय रबिन मगरको घरमा बसिरहेको अवस्थामा ती बालिकालाई फेला पारिएको छ । बालिकालाई उनका बुबाले बुझी लगेका छन् भने मगरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, हिजो बाह्रदशी–५ बस्ने प्रकाश राजवंशीकी श्रीमती वर्ष अन्दाजी २७ की गीता राजवंशी घरमा जानकारी नगराई आफूखुसी घरबाट हिँडेर बेपत्ता भएकी छन् ।
जान सक्ने सम्भावित ठाउँमा खोजतलास गर्दासमेत फेला नपरेपछि उनका भाइ अर्जुन राईले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका छन् । उनको खोजतलास भइरहेको छ । गीताका श्रीमान् प्रकाश विदेशमा रहेका छन् ।
कात्तिक १ देखि ८ गतेसम्म झापा प्रहरीले १७ जना हराएको हुलियासहितको परिपत्र मातहतका युनिटहरूलाई जारी गरेको छ । हराउनेमा १२ जना बालिका र किशोरी रहेका छन् । त्यस्तै दुई बालक, दुई पुरुष र एक महिला पनि हराएका छन् ।
हराएकामध्ये तीनजना बालिका (किशोरीसमेत) र एकजना पुरुष बाहिर जिल्लाका हुन् । त्यसमध्ये तीन जना भेटिएको प्रहरीले जनाएको छ ।







