
बिर्तामोड, कात्तिक ९ । झापामा हुने छठ पूजामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाली सेनासहितको सुरक्षा फौज परिचालन गरिने भएको छ । विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरुमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजामा केन्द्रिकृत गरिने भएको हो ।
 
 
 

झापाका मुख्य बजारहरुमा कात्तिक ३ गतेदेखि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्त गस्ती गर्दै आएका छन् ।दिन र रात गरी झापामा १२ सिफ्टमा नेपाली सेनाका १५० जना फौजले गस्ती गर्दै आएको अरिदमन गण चारआलीले जनाएको छ ।
 
 
 
 
 

छठ पूजामा मानिसको बढी भीडभाड हुँदा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सेनाको गस्ती टोलीलाई त्यसतर्फ परिचालन गरिने गणले जनाएको छ । गस्तीमा खटिएका सेनाका फौजले जुवातास खेल्ने, पटाका पड्काउने जस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन् ।
 
 
 
 

त्यस्तै, छठ पूजाको दिन जिल्लाभरि ७ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बढी भीडभाड हुने भद्रपुरको मेची, कनकाईको बिरिङ, बिर्तामोडको अधुवा, दमकको रतुवालगायतका ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
 
 
 

त्यस्तै, आवश्यकताअनुसार सशस्त्र प्रहरी पनि परिचालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्देशन बमोजिम छठ पूजामा सुरक्षाकर्मीहरु खटिने जनाइएको छ । झापाको करिब दुई दर्जन ठाउँमा छठ पूजा हुने भएको छ ।
 
 
 
 


 
            
 
 
 
 


 
    
     
    
     
    
     
    
     
    
     
    
    

 

 
    