२०८२ कात्तिक १२ बुधबार
Jhapa Today
Adv top

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती


बिर्तामोड, कात्तिक १२ । जेनजीका नाममा भएको विध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधवार विशेष नगर सभाको अधिवेशन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले विशेष अधिवेशन गरेर वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नगर सभाको विशेष अधिवेशन आह्वान गरेको हो ।

नगरपालिकाले ३ करोड ५० लाख ३७ हजार ३४३ बराबरको रकम संशोधन गरेको जनाएको छ । नगरपालिका र विषयगत शाखाबाट २ करोड ८१ लाख ७ हजार ३४३ र वडाको सिलिङबाट ७ प्रतिशतका दरले बजेट कटौती भएका उपप्रमुख खड्गमाया पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य, कृषि, भ्रमण, महिला बालबालिका, पशुपक्षी, सामाजिक विकास तथा सौन्दर्यीकरण लगायतका क्षेत्रको बजेटमा कटौती भएको प्रतिवेदनमा उल्लेख छ । कटौती भएको रकमबाट वडा कार्यालय निर्माण, मर्मत, फर्निचर खरिद लगायत पुनर्संरचना तथा नयाँ निर्माणका लागि आवश्यक योजना अघि सारिएको छ ।

आन्दोलनका नाममा नगरपालिकाको भवनसहित ११ वटै वडा कार्यालयमा आगजनी गरिएको थियो । आगजनीबाट नगरपालिकामा राखिएका हेभी तथा साना सवारी साधन, फर्निचर, विद्युतीय उपकरण तथा कागजपत्र नष्ट भएको थियो । यसैगरी ११ वटै वडा कार्यालय पूर्ण रूपले जलेर नष्ट भएको थियो ।

जलेका मध्ये वडा नम्बर ८ को भवन नयाँ बनाउनु पर्ने अवस्थामा छ । त्यसका लागि बजेट बिनियोजन गरिएको छ । वडा नम्बर ४ को भवन रेट्रोफिट गर्नुपर्ने अवस्था छ । त्यसका अतिरिक्त अन्य वडा कार्यालय भवन पुनर्निर्माण गरेर सञ्चालनको चरणमा छन् ।

आगजनीबाट अर्जुनधारा नगरपालिकामा १५ करोड बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले जानकारी दिए । उनले हेभी सवारी साधन, मेशिनरी उपकरण, हलुका सवारी साधन, मोटरसाइकल र स्कुटर गरी जम्मा १६ वटा जलेर नष्ट भएको बताए । साथै विद्युतीय उपकरण, कम्प्युटर, प्रिन्टर, ल्यापटप, गरेर १९० थान र फर्निचरतर्फ कुर्सी, अफिस टेबल तथा अन्य फर्निचरहरू गरी १ हजार १५६ थान जलाइएको जानकारी दिए ।

जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रमको बजेट कटौती गरेर संशोधन गरिँदा यो वर्ष नागरिकको अपेक्षा पूरा गर्न नसक्ने अवस्था सृजना भएको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताए । उनले आन्दोलनमा नगरमा भएको क्षतिका कारण सहज ढङ्गबाट सेवा प्रदान गर्न नसकिएको बताए । आन्दोलनका कारण सरकारका प्राथमिकता फेरिएको बताउँदै गोम्देनले जनतालाई जतिसक्दो सुविधा दिनेमा प्रतिबद्ध रहेको बताए ।

Adv footer