
बिर्तामोड, कात्तिक १४ । झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत भइरहेको छ । झापामा आज राति १ बजेदेखि निरन्तर पानी परिरहेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव कायमै रहेकाले आज साँझसम्म धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ ।
मोन्था चक्रवातको प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुनेछ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।
साथै, काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुनेछ ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    