
बिर्तामोड, कात्तिक १५ । शनिबार बिहान बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा भइरहेको छ ।
बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भएको हो ।
शनिबारबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने महाशाखाको भनाइ छ । साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश र मधेस प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।





