
बिर्तामोड, कात्तिक १६ । कात्तिक ९ गते कारसहित सम्पर्कविहीन भएका झापाको शिवसताक्षीस्थित माईधारका सरोज शर्माको पहिले हत्या गरेर त्यसपछि कारमा आगजनी गरिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।
३३ वर्षीय शर्माको शव हुलाकी राजमार्गको बिरिङ पुलमुनि खाल्डोभित्र भेटिएको थियो । बाह्रदशी र झापा गाउँपालिकाको सीमा क्षेत्रमा प्लास्टिकले बेरेर शर्माको शव गाडेको अवस्थामा प्रहरीले भेट्टाएको थियो ।
हत्याका संलग्न माईधारकै सुनिल शाहको बयानको आधारमा प्रहरी शव गाडेको स्थानसम्म पुगेको थियो । सुनिल शाहलगायत ४–५ जनाको समूहले शर्माको हत्या गरेर हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनि गाडेको बयान दिएका थिए ।
आपसी लेनदेन र विवादका कारण शाहको समूहले शर्मालाई मार्ने योजना बनाएको बुझिएको छ । उनीहरुले कात्तिक ९ गते शर्मालाई प्रलोभनमा पारेर बिर्तामोडतिर बोलाएका थिए ।
शर्माले आफैँ चलाएको लिएर हिँडेको बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा भेटिएको थियो ।
कात्तिक १३ गते बिहान १०ः४० बजे चारआली–भद्रपुर सडकखण्डबाट करिब २०० मिटर पश्चिम जंगलमा कार जलिरहेको अवस्थामा फेला परेको थियो ।
कार आगजनी गर्ने व्यक्तिको खोज्ने क्रममा कात्तिक १४ गते माईधारका सुनिल शाह र राहुल शाहलाई प्रहरीले पक्राउ गरेको थियो । सुनिल यसअघि मोटरसाइकल चोरी र लागुऔषध मुद्दामा पक्राउ परेको प्रहरीको स्रोतले बतायो ।
हत्या र कार आगजनीमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । शर्माको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यसैबीच, शर्माका आफन्त र स्थानीयले हत्यामा संलग्न सुनिल र सोही ठाउँ बस्ने बहादुर शाहको माईधारस्थित घरमा हिजो बिहान तोडफोड गरेका छन् । सोही आक्रोशित समूहले श्याम शाहको मे. १ ह ७२३७ नम्बरको अटोरिक्सामा आगजनीसमेत गरेको छ ।





