
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।
आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच उपाधि नजिक पु¥याउने लक्ष्यका साथ प्रतिस्पर्धा हुनेछ ।
यसअघि नेपाल पुलिस क्लबले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । संकटा एफसीले घरेलु झापा एफसीलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाले यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई समेत पराजित गरिसकेको छ । साथै, टोलीमा अहिले ६ जना यु–२० राष्ट्रिय खेलाडीहरू र भुटानकी एक राष्ट्रिय खेलाडी समेत रहेका छन् । उदीयमान र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूको उपस्थितिले संकटा टोलीलाई थप बलियो बनाएको छ ।
तर, नेपाल पुलिस क्लब पनि बलियो दाबेदारका रूपमा मैदानमा उत्रिँदैछ । पुलिस टोलीमा राष्ट्रिय खेलाडी रेखा पौडेल, उषा नाथ, मीना देउवा र पूजा राना लगायतका अनुभवी खेलाडीहरू छन् । यी खेलाडीहरूको अनुभवले टोलीलाई संकटाविरुद्ध जित निकाल्ने आत्मविश्वास दिनेछ ।
आजको खेलको विजेता टोलीले फाइनलमा विभागीय टोली एपिएफ एफसी वा त्रिभुवन आर्मी फुटबल क्लबमध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
आज दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।





