२०८२ कात्तिक २७ बिहीबार
Jhapa Today
Adv top

पाडाजुँगीमा सुविधासम्पन्न भृकुटी अस्पताल सञ्चालनमा आउँदै


बिर्तामोड, कात्तिक २७ । झापाको कमल गाउँपालिका पाडाजुँगीमा ‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने उद्घोषका साथ भृकुटी अस्पताल सञ्चालनमा आउने भएको छ । मंसिर अन्तिम साताबाट अस्पतालले सेवा सञ्चालन गर्ने भएको हो ।

कमल-५ पाडाजुँगी चोकबाट पूर्व ५०० शैय्याको उक्त अस्पतालको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । आदिवासी रङ्गशाला दक्षिण राजमार्गसँग जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायीहरु प्रताप कार्की, बुद्धिमान थापा र नसिम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन् ।

पछिल्लो समय झापा जिल्ला अस्पतालको हब बन्दै गए पनि झापाको मध्यपश्चिम भागमा अस्पताल नभएका कारण आफूहरूले सो क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको सञ्चालक नसिम कार्कीले जानकारी दिए ।

प्रस्तावित भृकुटी अस्पतालबाट झापा लगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, मोरङ लगायतका जिल्लाका नागरिक लाभान्वित हुनेछन् ।

रवि–चिसापानी सडक खण्ड पूर्णरुपमा सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोडभन्दा पाडाजुँगी सहज र सरल हुने अस्पतालका अध्यक्ष बुद्धिमान थापाले बताए ।

स्वास्थ्य उपचारको पवित्र उद्देश्य लिएर स्थापित भृकुटी अस्पताललाई थोरै खर्चमा राम्रो उपचार दिने अस्पतालको रुपमा स्थापित गर्न सरकारले तोकेका सबै मापदण्ड पूरा गरिएको सञ्चालक प्रताप कार्कीले बताए ।

‘सेवा प्रवाहको गुणस्तरमा हाम्रो कुनै सम्झौता हुँदैन’, उनले भने, ‘अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधि हुने भएकाले सबै किसिमका स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानु नपर्ने वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य छ ।’

अस्पतालबाट ओपिडी सेवा, भित्री बिरामी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी, एम्बुलेन्स र शल्यक्रिया लगायतका सेवा प्रदान गरिने उनले बताए ।

अस्पतालमा फिजियो थेरापी, युरोलोजी, अर्थोपेडिक्स, न्युरोलोजी, मेटरनिटी/नियोनेटल/ पिडियाट्रिक्स, गाइनोकोलोजी, जेनेरल सर्जरी, ग्यास्ट्रोइन्ट्रोलोजी, क्याजुलटी, कार्डियोलोजी, हेमाटोलोजी, नाक, कान, घाँटी, क्रिटिकल केयर, मेडिसिन, डरमाटोलोजी, साइकेट्रिक, डेन्टल, अफ्थाल्मोजोली, नेफ्रोलोजी लगायतका सेवासँगै एचडियु, पिआइसियु, एनआइसियु सेवा पनि उपलब्ध हुनेछन् ।

स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै सञ्चालनमा आउन लागेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दो बनाउने आफूहरूको योजना रहेको कार्कीले बताए ।

अस्पतालमा एक तलामा ३०० जनाभन्दा बढी बिरामी अटाउने गरी संरचना निर्माण गरिएको छ । अस्पतालको संरचना पूर्णरूपमा बिरामीमैत्री रहेको छ ।

आफूहरूले पूर्वमै अत्याधुनिक मेसिन÷उपकरण जडान गरिसकेको बताउँदै उनले प्राविधिक बाहेकको काम अन्तिम चरणमा पुगेको र दक्ष प्राविधिकसँग कुरा भइरहेको बताए ।

अस्पतालले विभिन्न क्षेत्रमा सुरुमै ४१० जना कर्मचारी भर्ना गर्ने जनाएको छ । प्राविधिक बाहेकका कर्मचारी नियुक्तिमा स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

अस्पतालको लक्ष्य नर्सिङ कलेज सञ्चालन गर्ने समेत रहेको छ । अस्पतालसँगै एक वर्षपछि नर्सिङ कलेज सञ्चालनमा आउनेछ ।

झापामा बिर्तामोड केन्द्रित स्वास्थ्य सेवा रहेकोमा माई पश्चिमका नागरिकको समेत स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने भरपर्दो अस्पतालका रूपमा भृकुटी अस्पताल सञ्चालन गर्न लागिएको हो ।

Adv footer