२०८२ कात्तिक २७ बिहीबार
Jhapa Today
Adv top

झापामा कुटपिट हुँदा दुईजना घाइते


बिर्तामोड, कात्तिक २७ । झापामा छुट्टाछुट्टै स्थानमा भएका कुटपिटका घटनामा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-११ बसपार्कमा हिजो राति कुटपिट हुँदा मेचीनगर–१३ का ३२ वर्षीय पुस्कर गुरागाईं घाइते भएका हुन् ।

इलाम नगरपालिका–८ घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बसोबास गर्ने २८ वर्षीय सञ्जीव तामाङ र गुरागाईंबीच सामान्य विवाद भएपछि झगडा भएको प्रहरीले जनाएको छ ।

सो क्रममा तामाङले गुरागाईंलाई कुटपिट गर्दा उनको अनुहारमा चोट लागेको र अगाडिको एउटा दाँतसमेत झरेको बताइएको छ । गुरागाईंको उपचार चारआली मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, बिर्तामोड नगरपालिका–७ खालबारीमा हिजो राति नै कुटपिटको अर्काे घटना भएको छ । स्थानीय ३७ वर्षीय आइतराज जवेगु र ३४ वर्षीय सुरेन्द्र ढकालबीच मादक पदार्थ सेवन गरेको अवस्थामा झगडा हुँदा जवेगु घाइते भएका छन् ।

घाइते जवेगुलाई कुटपिट गर्ने ढकालले नै बिर्तासिटी अस्पतालमा उपचारका लागि लगेको प्रहरीले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार जवेगुको टाउकोमा चोट लागेको छ । दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer