
बिर्तामोड, कात्तिक २९ । नेत्र चिकित्सामा नेपालकै सुविधा सम्पन्न र अत्याधुनिक झापा बिर्तामोडको मेची आँखा अस्पताल आजबाट ३० औँ वर्षमा प्रवेश गर्दैछ । आज अस्पताल परिसरमा २९ औँ वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रम हुँदैछ ।
पछिल्लो दुई कार्यकाल अस्पतालको अध्यक्ष समाजसेवी तथा विकासका कार्यान्वयनकर्ता जलकुमार गुरुङ छन् । गुरुङ अध्यक्ष भएर आएपछि अस्पतालको मुहार मात्र होइन सेवा र सुविधा पनि अन्तर्राष्ट्रियस्तरको बनाएका छन् ।
चार वर्षअघि पहिलोपटक अध्यक्ष भएपछि गुरुङले अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययनको तयारी गरेका छन् । अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल साइन्स (नाम्स) सँग सम्झौता भइसकेको छ । निकट भविष्यमा सम्पूर्ण मापदण्ड पूरा गरेर कलेज सञ्चालन गरिने उनले झापा टुडेलाई बताए ।


त्यस्तै, रोटरी क्लबसँगको सहकार्यमा मोबाइल ओपथाल्मिक भ्यान सञ्चालनको तयारी सुरु गरिएको छ । आँखा अस्पतालमा हुनुपर्ने सम्पूर्ण उपकरणसहितको सो भ्यानले आँखा शिविर तथा बिरामी भएकै ठाउँमा पुगेर उपचारमा सघाउने गुरुङले बताए ।
अस्पतालले कोर्निया तथा रिफ्राक्टिभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लास्टी, अर्थोअप्टिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू जडान गरेको छ । अस्पतालमा लेजर अप्रेसनको सुरुवात गरिएको छ । लेजर अप्रेसन गरेका आँखाका बिरामीले चश्माको प्रयोग गरिरहनु पर्दैन ।

अध्यक्षको रुपमा गुरुङ आएपछि अस्पतालमा व्यापक सुधारका कामहरु भइरहेका छन् । सैनिकमोडमा सरेको डेढ दशक बितिसक्दा पनि अस्पतालले वातावरणीय प्रभाव मूल्यांकन गर्न सकेको थिएन । तर, स्पष्ट दृष्टिकोण, प्रस्ट योजना र काम गर्ने इच्छाशक्ति भएकै कारण गुरुङले वातावरणीय प्रभाव मूल्यांकनको काम सकेका छन् ।

गुरुङ अध्यक्ष भएर गरेको पहिलो निर्णय थियो, अस्पतालमा नाला बनाउने । पानीको निकास नहुँदा अस्पतालमा पानी जम्थ्यो । दोस्रो निर्णय थियो, पर्किङ । हाल अस्पतालमा अन्तर्राष्ट्रियस्तरको सवारी साधन पार्किङ छ । झापाको एक मात्र साइकल पार्किङ छ । निकट भविष्यमा बहुतले पार्किङ बनाउने गुरुङले योजना सुनाए ।
बिरामीको सुविधाको लागि अस्पतालमा दुईवटा लिफ्ट सञ्चालनमा आएका छन् । आकर्षक पार्क बनिसकेको छ । सुन्दर झार र ढकमक्क फुलेका फूलले गर्दा बिरामीले आनन्द लिने गरेका छन् । पाँचतारे सुविधा अस्पतालमा छ ।

अस्पतालको अग्रभागमा मास लाइट जडान गरिएको छ भने बुद्धको आकर्षक प्रतिमा स्थापना र अस्पतालको प्रवेशद्वार नजिकै रहेको आइल्यान्डमा अभिभावकलाई सन्तानले डोहोर्याउँदै गरेको दुईवटा प्रतिमा स्थापना गरिएको छ । आकर्षक प्रवेशद्वार बनाइएको छ ।
बिरामी र कुरुवाका लागि बस्ने ठाउँ, चिकित्सक र कर्मचारीका लागि स्तरीय तथा आकर्षक खेलमैदान तथा थप आवासगृह, उपचार तथा जाँच कक्षहरु थप, बनियानी र भद्रपुरमा आफ्नै भवनसहितको आँखा अस्पतालको सञ्चालनको अन्तिम तयारी लगायतका काम गुरुङ अध्यक्ष भएर आएपछि भएका काम हुन् ।

चार बिघा क्षेत्रफलमा रहेको अस्पतालमा व्यापक सुधार आउनुको कारण गुरुङ अनुभवी भएर नै हो । व्यवस्थापकीय जिम्मेवारीमा उनी निपुण भएकै कारण परिवर्तन आएको हो ।
मेची आँखा अस्पताल सामुदायिक अस्पताल भएकाले रकम अभावमा उपचारबाट कोही पनि बञ्चित हुनु नपर्ने उनको भनाइ छ । गुरुङ आफ्नो सफलताबारे भन्छन्, ‘आफू जे कामका लागि हो, त्यसमै केन्द्रित हुनुपर्छ, अनि मात्र प्रतिफल आउँछ । नत्र लथालिंग हुन्छ ।’
विगत २८ वर्षयता नेपाल, भारत, भुटान र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको अस्पतालमा युरोपियन मोडलको क्यान्टिन र क्याफे सञ्चालनको तयारीमा छ ।





