२०८२ मंसिर २ सोमबार
Jhapa Today
Adv top

सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक


बिर्तामोड, मंसिर १ । काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन बढेको छ ।

इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ ।

सलकपुरका करिब ३० घरमा घरबास (होमस्टे) सञ्चालन छ । प्रत्येक हप्ताको शुक्रबार र शनिबार यहाँका सबै घरबासमा पर्यटक भरिभराउ हुने वडा अध्यक्ष सत्यम राईले बताए । उनका अनुसार सो क्षेत्रमा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेका छन् ।

उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरवासमा बास बस्न आउने गरेको जानकारी दिए । यहाँ छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ र कोलकातातिरका पर्यटकसमेत आउन थालेको उनले बताए ।

विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन बिमलीले बोटबाटै प्रतिकेजी १३० रुपैयाँमा सुन्तला बिक्री गरिरहेको बताए । उनको बारीमा यस वर्ष तीन वर्ष यताकै राम्रो सुन्तला फलेको छ ।

उनले यहाँ आएका पर्यटकलाई सुन्तला बारीमा पस्नका लागि नियम बनाइएको बताए । पर्यटकले फोटो, भिडियो खिच्न र टिकटक बनाउन सुन्तला बगान खुल्ला रहे तापनि जथाभावी टिप्न नपाइने उनको भनाइ छ ।

विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती भइरहेको उनले बताए ।

Adv footer