२०८२ मंसिर २ सोमबार
Jhapa Today
Adv top

दुर्गा प्रसाईं मध्यरातमा पक्राउ, उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर


बिर्तामोड, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई पक्राउ गरेको पुष्टि गरे । उनी जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ ।

आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ । उनले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।
यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।
सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए ।

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका थिए । त्यस्तै, प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।

आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमतसंग्रह गर्नुपर्ने उनको भनाइ थियो । प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेन्डा अघि सार्दै आएको छ । उनको मागका सम्बन्धमा कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता समेत भएको थियो । तर उक्त वार्ता निष्कर्षविहीन भएको थियो ।

उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।

Adv footer