
बिर्तामोड, मंसिर २ । भद्रपुरस्थित मेची नदीबाट सुरु गरेको नौ दिनमा ‘टुर दि मेची–महाकाली’ साइकल राइडरको टोली महाकालीस्थित गड्डाचौकी पुगेको छ ।
भद्रपुर साइकल सोसाइटी झापाको आयोजनामा कात्तिक २३ गते सुरु भएको यात्रा आज नवौँ दिन नेपालको पश्चिमी सिमना गड्डाचौकीको पिलर नम्बर ८०५/१–७ पुगेर यात्रा समापन गरेको हो ।
राइडका संयोजक तथा सोसाइटीका अध्यक्ष जीवनकुमार श्रेष्ठका अनुसार महाकालीबाट हुलाकी राजमार्ग हुँदै टोली घर फर्किनेछ । टोलीमा श्रेष्ठसहित पाँचजना रहेका छन् ।

सोसाइटीका कोषाध्यक्ष देवीबहादुर श्रेष्ठ, सल्लाहकार मनोज सिंह, सदस्य समिर पोखरेल र विश्वचन्द्र महतो राइडमा सहभागी रहेका छन् । उनीहरूले कठिन र लामो दूरी पार गर्दै अभियान सफलतापूर्वक पूरा गरेका छन् । सोसाइटीले सबै राइडरलाई सुरक्षित यात्रा सम्पन्न गरेकोमा बधाई दिएको छ ।
सोसाइटीले राइडका क्रममा सहयोग गर्ने उदयपुर साइक्लिङ संघ, हिमालयन राइडर्स सोसाइटी हेटौँडा, कावासोती राइडर्स क्लब, नवलपरासी राइडर्स क्लब, साइकल सिटी भैरहवा, तिलत्तोमा राइडर्स क्लब, साइकल साथी सैनामैना, वाणगंगा राइडर्स क्लब, साइकल सिटी हेटौँडा, कञ्चनपुरलाई धन्यवाद दिएको छ ।
सोसाइटीले आगामी दिनमा पनि स्वस्थ जीवनशैली, वातावरण संरक्षण र साइक्लिङ संस्कृतिको प्रचार–प्रसार गर्ने अभियान निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।






